दफा ११३
साक्षीलाई दैनिक तथा भ्रमण भत्ता तथा सुरक्षा दिनु पर्ने
(१) अनुसूची–१ वा अनुसूची–२ अन्तर्गतका कसूर सम्बन्धी मुद्दामा नेपाल सरकारका तर्फबाट अदालतमा उपस्थित भएका साक्षीलाई राजपत्र अनङ्कित प्रथम श्रेणीका सरकारी कर्मचारीले र विशेषज्ञको रुपमा उपस्थित भएको साक्षी भए राजपत्राङ्कित तृतीय श्रेणीको सरकारी कर्मचारीले कानून बमोजिम पाए सरहको दैनिक तथा भ्रमण भत्ता सम्बन्धित प्रहरी कार्यालयले उपलब्ध गराउनु पर्नेछ ।
(२) कुनै सरकारी कर्मचारी साक्षी वा विशेषज्ञको हैसियतले अदालतमा उपस्थित भएमा निजलाई प्रचलित कानून बमोजिम निजले पाउने दैनिक तथा भ्रमण भत्ता निज बहाल रहेको कार्यालयले उपलब्ध गराउनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको साक्षीको आवश्यक सुरक्षाको व्यवस्था नेपाल सरकारले गर्नु पर्नेछ ।